भागवत् कथाको महत्व

भागवत् कथा वेद तथा उपनिषदको सारले भरिएको छ । यो सम्पूर्ण शास्त्रभन्दा श्रेष्ठ छ । यसमा १८ हजार श्लोक छन् । वेद कल्पवृक्ष हो र भागवत् त्यसैको फल हो । भागवत पुराण सबैभन्दा पहिले साक्षात् भगवान्ले नारदलाई, नारदले व्यासलाई र महात्मा व्यासले यो वेदतुल्य संहिता आफ्ना छोरा महात्मा शुकदेवले राजा परीक्षितलाई सुनाएको कथा हो । भागवत् कथामा हरि भगवानको बारम्वार वर्णन गरिन्छ । भागवत् कथा संसारका मानिसहरुलाई दुर्लभ छ । कोटी जन्मदेखि प्राप्त भएका पुन्यहरुका कारण मात्रै भागवत कथा प्राप्त हुन्छ । कलियुगमा मानिसले धेरै व्रत नियमहरु पालना गर्न सक्दैन । त्यसैले सप्ताह सुन्नु नै परमोत्तम मानिन्छ । तप, योग र समाधिले प्राप्त नहुने फल सप्ताह सुन्नेले प्राप्त गर्छ । सात दिनसम्म विधिपूर्वक सुन्नेलाई अक्षय फल प्राप्त हुन्छ । कलियुगमा मानिस लोभी, दुराचारी, निर्दयी, व्यर्थै झगडा गर्ने, अभागी, तृष्णा भएका हुन्छन् । त्यसैले भगवान चित्तमा बसे सबै कलिको दोष नाश हुन्छ । हरि भगवान् हृदयमा नबसेसम्म दान, धर्म, तीर्थ व्रत केही गरे पनि चित्त शुद्ध हुँदैन । भगवानकै ध्यानले मात्र चित्त शुद्धि हुन्छ । एक समय अर्जुनका नाति राजा परीक्षित धनु हातमा लिएर शिकार खेल्न भनी वनमा गए । मृगका पछि पछि दगुर्दा दगुर्दा उनले त्यहाँ आँखा चिम्ली समाधिमा बसेका एक मुनिलाई देखे । प्यासले आकुल व्याकुल भएका परीक्षितले ती मुनिसँग पानीको लागि याचना गरे । तर ती मुनिले उनको यो पुकारा सुनेनन् । किनकि उनी पाँचै इन्द्रिय रोकी आँखा चिम्ली बसेका थिए । उनको यो चाला देखेर राजा क्रोधित बने र धनुका सहायताले एउटा सर्प मारी ती ब्राह्मण क्रृषिको घाँटीमा हालेर आफू शहर गए । ती मुनिका छोरा श्रृंगि अत्यन्त तेजस्वी थिए । परीक्षित राजाले बाबुको घाँटीमा सर्पको माला लगाइदिएका खबर सुनेर उनले आँखा राता राता बनाउँदै यी राजा अत्यन्त दुष्ट रहेछन् । यिनलाई म श्राप दिन्छु भनेर कौशिकीको जलले आचमन गरी भने मेरा पिताको घाँटीमा मरेको सर्प राख्ने राजालाई सात दिनभित्र तक्षक आइ डसोस् । यति भनिसकेपछि उनी रोइ कराइ गर्न थाले । बाबुले छोराको विलाप सुने । किन रोएको कसले के गर्यो ? भनेर सोधेपछि उनले बेलीविस्तार लगाए । मुनिले भने यशस्वी भगवानका परमभक्त राजा परीक्षितलाई श्राप दिनु योग्य थिएन । अब यी राजाको रक्षा गर्न भगवान मात्रै सक्षम छन् । शमिक श्रृषिले पनि सातौँ दिनमा डस्ने कुरा बताइदिएपछि परीक्षित वैराग्य वोध गरी नदी किनारमा गएर बस्न थाले । त्यहाँ सम्पूर्ण प्रतिष्ठित श्रृषिहरु आए । त्यहाँ शुकदेव श्रृषि पनि थिए । अनि परीक्षितले शुकदेवसँग सोधे जसको मृत्यु नजिकै आएको छ, त्यसलाई के गरे मोक्ष हुन्छ ? के सुन्न योग्य छ, के जप्न योग्य छ, कसको स्मरण र कसको भजन गर्ने ? यो सबै कुरा मलाई बताइदिनुहोस् । राजाको यस्तो वचन सुनी शुकदेवले भन्न थाले हे राजन् सबका अन्तर्यामी भगवानको भजन, कीर्तन र नारायणको स्मरणबाट मात्र नै मोक्ष प्राप्त हुन्छ । मैले श्यामसुन्दर परमेश्वरको लीला स्तुति भएको पुराणहरुका श्रेष्ठ श्रीमद्भागवत कथा मेरा बाबा वेदव्यासजीबाट पढेथेँ त्यो नै तिमीलाई सुनाउँछु । शुकदेवले भने जो कोही यो आवागमनदेखि छुट्ने इच्छा गर्छ, त्यसले श्रीमद्भागवत श्रवण गरोस् । यो भन्दा अर्को उपाय केही छैन । सबै शास्त्रको सुन्नाको फल केबल भागवत सुन्नाले मात्र प्राप्त हुन्छ । तिमीले यो कथा सुने मुक्ति पदविका पुग्छौ । मर्ने दिन आयो भनेर नडराउ । श्रीमद्भागवत चित्त लगाइ प्रेमसँग सुन, तिमीलाई मुक्ति मिल्छ । सच्चा मनले परलोक सुधार्न आँट्यो भने दुइ घडीमा नै मुक्ति पाउन सकिन्छ । खट्वांग राजाले दुइ घडीमा नै मुक्ति पाएका थिए । तिमीलाई त सात दिन छ । त्यसैले आफ्नो मन संसारी मायादेखि छुटाइ सब इन्द्रियलाई आफ्ना वसमा राखी परमेश्वरको विराट स्वरुपको ध्यान गरी बस । श्रीकृष्णका सदाचरणारविन्दको हृदयमा ध्यान राखेर श्रीमद्भागवत मन लगाइ सुनेपछि तिमीलाई मुक्ति मिल्छ । म मरुँला भन्ने पशुवुद्धिलाई छोडिदेउ, यो देह पहिले थिएन र पछि पैदा भयो । यो पनि नष्ट हुन्छ । शरीर नष्ट भए पनि तिमी नष्ट हुँदैनौ । म मर्दछु भन्ने बुद्धि भ्रान्तिले मात्र हुन्छ । आत्मा कहिल्यै पनि मर्दैन । मायाको कारणले गर्दा मात्र जीवको जन्ममरण देखिन्छ । वास्तविकता त्यो हैन । संसारको नाश भए पनि आत्माको नाश हुँदैन । आत्मविचार गर्यौ भने तक्षक पनि डराउँछ । परव्रम्ह भगवानदेखि मृत्यु पनि डराउँछ । जो म हुँ, सो परव्रम्ह हुँ, जो व्रम्ह छन् मै हुँ भन्ने विचार राखी आफ्नो विचारलाई व्रम्हमा लगायौ भने आफूलाई डस्ने तक्षकनागलाई, आफ्नो शरीरलाई यस संसारमा एकै देखौला । यति शुकदेवले भनेपछि परीक्षित राजाले भने म कृतार्थ भएँ । मेरा उपर हजुरले ठूलो अनुग्रह गरी व्रम्हज्ञान गर्नुभयो, त्यसबाट अब मलाई तक्षकदेखि पनि डर लाग्न छाड्यो । मैले हृदयमा व्रम्है मात्र देखेँ । अब आज्ञा भए म वाणीलाई रोकी भगवानको ध्यान गरी प्राण छाडिदिन्छु । त्यसैबेला तक्षक आफ्नो रुप फेरी एउटा फलमा कीराका रुपमा भित्र छिर्यो र सो फल परीक्षितका हातमा चढायो । राजाले सो फल प्रेमसाथ लिई सुँघे । त्यसैबेला त्यो फल फुटेर त्यहाँबाट तक्षक निस्क्यो र राजालाई टोक्यो । राजाको शरीर तत्काल भष्म भयो । त्यसपछि उनी परमपद प्राप्त गरी विष्णुलोक गए । स्रोताहरुलाई यही विष्णुलोक प्राप्ति होस् भन्ने विश्वासले यो सप्ताह आयोजना गरिएको हो ।