कलश यात्रा

भागवत् कथा श्रवण गर्नुभन्दा पहिले देवताको आवाहन गर्न श्रद्दालु महिलाहरुले विशेष किसिमले सजाइएको जलपूर्ण घडा टाउकोमा राखेर यज्ञस्थलसम्म पुर्याउने कार्यलाई कलश यात्रा भनिन्छ । हिन्दू धर्म र संस्कृतिमा कलशलाई रिद्धि र सिद्धिको प्रतीकका रुपमा मानिएको छ । जन्मको समयमा कलश स्थापना गर्ने प्रचलन छ भने मृत्युको समयमा पनि शरीरको साथसाथ कलश विसर्जन गर्ने गरिन्छ । पानी भरिएको कलशको माथिल्लो भागमा नरिबल राख्ने गरिन्छ । यसको प्रतीकात्मक अर्थ हुन्छ घरको मूली कडा हुनुपर्छ र अरु त्यति नै नरम । यसले हाम्रो पारिवारिक स्थितिलाई झल्काएको छ । यसैगरी यसमा लगाइएको फूलको मालाको पनि विशेष महत्व छ । जसरी फूलको मालाले सुगन्ध दिन्छ त्यसैगरी मानिसले पनि अरुलाई सुगन्ध दिनुपर्छ भन्ने सन्देश यसले बोकेको छ । यो कलश यात्रा सम्पन्न भएपछि मात्र भागवत् कथा पुराण वाचनको कार्यक्रम आयोजना हुन्छ । यो कलश यात्रामा १००८ श्रद्दालु महिलाहरु सहभागी हुने बताइएको छ । यो कलश यात्रा केही मिनेट अवधिको हुनेछ ।